
सुनसरी । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश स्थान डुवानमा परेको छ ।
आकाशबाट परेको पानीको निकास नहुँदा र खोलाको बाढी बस्तीमा छिर्दा पूर्व–पश्चिम जिल्लाको राजमार्ग दक्षिणका अधिकांश मानव बस्ती डुवानमा परेको हो ।
तीन दिनदेखिको अविरल वर्षातका कारण भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिकाका एकहजार भन्दा बढी घर डुवानमा परेका छन् ।
बाढीका कारण जिल्लाका तीन सय भन्दा धेरै घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
इटहरी उपमहानगरपालिका–५ को सिकुमारी खोलामा आएको बाढीले रामवृक्ष चौधरीको बगाएको छ भने दुहबी नगरपालिका–४ स्थित ढिकीबुन्ना टोलमा पनि बुढि खोलाले सोभाकुमारी चौधरी र विकास विकको घर बगाएको छ ।
त्यस्तै इनरुवा ८ मा सुनसरी खोलाको बाढीका कारण उराँउ टोलका २० घर परिवार विस्थापित भएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको ५ र ७ नम्बर वडाका एकसय ५० बढि घर परिवार डुवानमा परि विस्थापित भएका छन् ।
बर्जु गाउँपालिका–५ को पण्डित टोलका ६ घर परिवार बाढीले विस्थापित भएका छन् । सोही वडाको गुरुङ टोलका ८ परिवार विस्थापित बर्जु गाउँपालिकाको चिमडीका ४० भन्दा बढि घरपरिवारले पनि घर छाडेका छन् ।
विस्थापित परिवारलाई नजिकैको विद्यालय, छिमेकी र सार्वजनिक स्थलमा सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरि राखिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
वर्षाकै कारण हरिनगरा गाँउपालिकाको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) डुवानमा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंले बताउनुभयो । कार्यालय नै डुबेपछि दैनिक कामकाजमा बाधा पुगेको उहाँले जानकारी दिनुभयो ।
बर्षात नरोकिएकाले घरबाट बाहिर ननिस्कन र सावधानी अपनाएर सुरक्षित रहन स्थानीय प्रशासनले सुनसरीवासीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्