
काठमाडौं । चीनको तिब्बतसँग वस्तु विनिमय प्रणालीबाट सुरु भएको व्यापार अहिले चीनको विभिन्न शहरसँग जोडिएको छ ।
सदियौंदेखिको व्यापार व्यवसायमा २०७२ को भूकम्प पश्चात विकराल समस्या आयो । भूकम्प आएको ७ वर्ष वितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन । कोभिड–१९ को मारमा परेका व्यवसायी चीनले व्यापारका लागि दिने भिसामा कडाई गर्दा झन् मर्कामा परेका छन् ।
अस्थायी पास वा मल्टीपल भिसा पनि नपाउँदा आफूहरू ठूलो मारमा परेको व्यवसायी बताउँछन् । केरुङ र खासाबाट निर्यात तथा सामान निकासी गर्न सहज वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको आग्रह छ ।
चीनबाट आयात गरिने आधिकारिक ब्राण्डेड सामान, कृषि तथा औषधिजन्य कच्चा पदार्थमा गरिएकोे समस्याको निराकरणका लागि सहजीकरण गरदिन व्यवसायीहरूको माग छ । केरुङ र खासा नाका आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सारमा आइपुग्ने व्यवस्था मिलाइदिनसमेत उनीहरूको आग्रह छ ।
‘हरेक प्रकारका परीक्षण र जाँच गर्दा पनि १० दिनभन्दा बढी समय लाग्दैन,’ व्यवसायी कार्की भन्नुहुन्छ, ‘तर, विभिन्न बहानामा ६ महिनासम्म लगाइदिएको अवस्था छ, त्यसले गर्दा ऋणमा रहेको हामीहरू झनै मारमा परेका छौं ।’
यता चीनका लागि नेपाली राजदुत विष्णुपुकार क्षेष्ठ तत्काल समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । तत्कालका लागि नाकाबाट सामानहरू आयातनिर्यातका गर्न आफूहरू प्रयासरत रहेको उहाँको भनाइ छ ।
चीनसँगको व्यापार सहज नहुँदा राजस्व समेत प्रभावित हुने भएकाले उत्पादनमा जोड दिन आवश्यक रहेको अर्का व्यवसायी तथा महासंघका सल्लाहकार भीमभक्त श्रेष्ठ बताउनुहुन्छ । कच्चा पदार्थ आयात गरेर उत्पादनमा ध्यान दिनुपर्नेमा आफूहरू दृढ रहेको उहाँको भनाइ छ ।
चीनतर्फ गाडी बिग्रिएको, ठोक्किएको इन्सुरेन्सको दाबी नहुने, सवारी चालक नपाइने, सामान धनी व्यवसायीहरू केरुङ जानबाट बन्चित हुँदा सामान हराउने, भन्सार तिर्न समस्या हुनुका साथै भन्सारमा सामान छुटाउन धेरै झन्झट बेहोर्नुपर्ने अवस्थालाई सहजीकरण गरे निर्यात बढ्नेमा व्यवसायी ढुक्क छन् ।
समस्या समाधानमा कसैले पनि चासो नदिएका कारण चीनसँगको व्यापार त प्रभावित भएको छ नै सिंगो राष्ट्रलाई राजस्वमा धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्