२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साढे १ अर्बमा बनेको चोभार बन्दरगाहको कमाइ छ हजार रुपैयाँ


10.153k
Shares

काठमाडौं । एक अर्ब ५३ करोड रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाहमा ४ महिनामा जम्मा १२ वटा कन्टेनर भित्रिएका छन् ।

विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर अर्बौंको लगानीमा बनाइएको बन्दरगाह गत चैतमा उद्घाटन भएदेखि अहिलेसम्मको अवधिमा जम्मा १२ वटा कन्टेनर सामान लिएर आएका हुन् ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने भएपछि चैत २२ गते ४ वटा कन्टेनरमा सामान ल्याइएको थियो । तर, त्यसयता जम्मा ८ वटामात्रै कन्टेनर आएका छन् ।

वीरगन्ज र विराटनगर लगायतका सुक्खा बन्दरगाहमार्फत सामान आयात गर्दै आइरहेका आयातकर्तालाई चोभारमा आकर्षित गर्ने गरी धेरै प्रकारका छुट सुविधा दिइएको छ । चोभार बन्दरगाहमा पार्किङको छुट दिइएको छ भने अन्त शुल्कमा समेत अत्यधिक छुट दिइएको छ ।

कन्टेनरले चोभार बन्दरगाहमा सामान लिएर आउँदा प्रतिकन्टेनर ५ सय रुपैयाँ सेवा शुल्क बापतको रकम तिर्नुपर्छ । यस आधारमा अहिलेसम्म १२ वटा कन्टेनर भित्रिँदा ६ हजार रुपैयाँ उठेको छ ।

अर्बौं रुपैयाँ खर्च गरेर व्यापार सहजीकरण गर्न बनाइएको भौतिक संरचनाको औचित्य पुष्टि गर्न सरकारी पक्षलाई चुनौती थपिएको छ ।

बन्दरगाह सञ्चालनको भरथेग काठमाडौं–तराई द्रुतमार्गलाई लिइएको छ । तर, अहिलेसम्म द्रुतमार्ग सञ्चालनमा नआउँदा बन्दरगाहले त्यसको लाभ लिन सकेको छैन ।