
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताउनुभएको छ ।
बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताउनुभएको हो ।
उहाँले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताउनुभयो । मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताउनु भयो । इन्धनको मूल्य उच्चरुपमा बढ्दै गएसँगै आकाशिएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताउनुभयो । उहाँले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारी भित्र रहेको बताउनुभयो ।
मन्त्री बडूले मन्त्रीपरिषद्को निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी गर्नुभयो । उहाँले करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको बताउनुभयो । मन्त्री बडूले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थमन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्ने बताउनुभयो ।
मन्त्री बडूले इन्धनको मूल्य घटाएपनि बजारमा त्यसको कार्यान्वयन भए÷नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरिएको बताउनुभयो । मन्त्री बडूले सरकारले बजारलाई हस्तक्षेप गरेर बजारलाई नियन्त्रण भन्दा बाहिर जान नदिने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री बडूले सरकारले तीब्ररुपमा बजार अनुगमन गर्ने र बजारमा वस्तुको मूल्य घट्न घटाउन नचाहने प्रवृति देखिए तत्काल नियन्त्रणमा लिएर कानून अनुुसारको कारबाही गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्