
काठमाडौं । जल तथा मौसम विभागले जब–जब मनसुन शुरु भएको र खोला छेउको जनजीवन जोखिममा रहेको बताउँछ, त्यतिबेला बागमती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । भोक निद्रा हराउँछ ।
आकासमा चट्याङ र कालो बादलको साम्राज्य फैलिदै जाँदा बागमती नदी किनारका बासिन्दाको मुटुको गति बढ्न थाल्छ । बालबालिका, ज्येष्ठ नागरिक र परिवारका बिरामीलाई कसरी सुरक्षा दिने भन्ने चिन्ताले घरमुलीमा छटपटी शुरु हुन्छ ।
खोला छेउको जीवन त्यसमाथि हैजाको महामारीको त्रास उत्तिक्कै छ । दोहोरो दवावबीच बाँच्न बाध्य उनीहरू बढ्दो झरीसँगै जाग्राममै दिनरात कटाउन बाध्य छन् । सरकारले जोखिम बस्तीमा राखेर बस्ती छोड्न बारम्बार ताकेता गरे पनि विकल्प नभएको भन्दै उनीहरूले छाडेका छैनन् ।
१७ वर्षदेखि बस्दै आएको थलो छोड्न कठिन भएको स्थानीय पुनम मगर र चित्रबहादुर पुलामी मगर बताउँछन् । ठाउँ छोडेर पनि जाने ठाउँ नभएपछि जसोतसो यहिँ बसेको उनीहरूको भनाइ छ ।
हुन त बागमती नदीलाई उपत्यकाको सभ्यतासँग जोडेर हेर्ने गरिन्छ । तर थापाथलीमा रहेका सयौं नागरिकका लागि बागमती नदी दुःखको कहानी बनेको छ ।
जुनसुकै स्थानीय सरकारले चुनावअघि आफूहरूलाई गुलियो आश्वासन दिए पनि पदमा पुगेपछि न्याय दिन नसकेको गुनासो गर्ने उनीहरू सुकुम्बासीको पहिचान गरी आफ्ना समस्याप्रति संवेदनशील बन्न आग्रह गर्छन् ।
‘लालपूर्जा दिने र बस्ती बसाउने भनेर भोट दिने बेलामा राम्रो कुरा गरेका थिए,’ पुनम मगर भन्छिन्, ‘भोट पाइसकेपछि उठाउने भन्ने कुरा चाहिँ सुनेको छु, अन्त व्यवस्था गरेपछि मात्रै हामी यहाँबाट उठ्छौं ।’
गरिबको बसोबास पहाडमुनि र खोला किनारमै हुने गरेको दृष्टान्त दिने उनीहरू प्रकोपबाट बच्न भरलाग्दो सुरक्षा अपनाउन नसकेको स्वीकार्छन् । आफूहरूले पनि सुरक्षा अपनाउन नसकेको र सरकारले पनि वास्ता नगरेको उनीहरूको भनाइ छ ।
जल तथा मौसम विभागले देशका अधिकांश भागमा यो वर्ष सरदरभन्दा बढी बर्षा हुने पुर्वानुमान गरिसकेको छ । वैशाख यता १४ जनाको ज्यान गइसकेको अवस्थामा देशको राजधानीमा नदी किनारमा रहेका सुकुम्बासीको सुरक्षामा भरलाग्दो उपाय अबलम्बन गर्न आवश्यक छ ।
जबकी बढ्दो बस्तीले खुम्चिएका काठमाडौं उपत्यकाका खोला बाढीसँगै शहरमा पसेर ताण्डव देखाउन थालेको उदाहरण बाक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्