१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २७ गते बस्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न कांग्रेसले आगामी असार २७ गते दिउँसो १ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षाका साथै अन्य विधि विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ । केन्द्रीय समिति बैठकको सम्मुखमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदनका सम्बन्धमा छलफल गरेको छ । संक्षिप्त रुपमा तयार पारिएको उक्त प्रतिवेदनमा सत्तागठबन्धनका दलहरुबीचको चुनावी तालमेलले स्थानीय तहमा जित्न सफल भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा अधिनायकवादको सम्भावना अझै कायम रहेकाले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर जानुपर्ने उल्लेख छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी स्थापित भएको छ । कांग्रेसले ३ सय २९ पालिकाका मेयर/अध्यक्ष जितेको थियो ।

यसैबीच, आन्तरिक विवादका कारण फुटको संघारमा रहेको सत्तारुढ दलको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका मुख्यसचिव प्रकाश अधिकारीले आज जारी गरेको विज्ञप्तीमा केन्द्रीय समितिको बैठक असार २७ र २८ गते विरगञ्जमा बस्ने उल्लेख छ ।

आन्तरिक विवादका कारण फुटको संघारमा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हुने विषयमा छलफल भईसकेको छ ।