१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


देशभर ५८ हजारभन्दा बढीको कोरोना परीक्षण, ५७ संक्रमित मध्ये १६ जना भए निको


0
Shares

काठमाडौं, बैशाख १८ । सरकारले देशभर अहिलेसम्म ५८ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरस संक्रमणको परीक्षण गरेको छ ।

बन्दाबन्दी गरेको ३८ औं दिनसम्ममा सरकारले देशभर जम्मा ५८ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण गरेको हो । हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना निको भई घर फर्किसकेका छन् ।

संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जना उपचाररत छन् । त्यसैगरी वीरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म देशभर ५८ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएका हुन् ।

जसमध्ये १२ हजार ११ जनाको ‘पीसीआर’ र ४६ हजार ८६० जनाको ‘आरडीटी’ परीक्षण गरिएको जानकारी डा. देवकोटाले दिए । यस्तै, देशभर २३ हजार ३३६ जना सरकारले तोकेको क्वारेन्टाइन र ८० जना ‘आइसोलेसन’कक्षमा रहेको पनि उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण गरिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

विगत २४ घण्टामा प्रयोगशाला र र्यापिड गरी करिब १७ सय वटा नमूना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।