
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उहाँले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने गरेको बताउनुभयो ।
बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विमला बिकले कुमारी आमालाई पनि एकल महिलाको रुपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताउनुभयो । उहाँले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सचेत गराउनुभयो । उहाँले श्रम गर्नसक्ने एकल महिलाहरुलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताउनुभयो । धनि मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले उमेर भएका मान्छेहरुलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्