६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कर्णाली प्रदेश अस्पतालकाे एमआरआई खरिदमा ७ करोड बढी परेपछि…


468
Shares

काठमाडौं । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा ७ करोड रुपैयाँ अनियमितता भएको आशंका गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ ।

सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानविन थालेको हो ।

एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड रुपैयाँ फरक परेपछि अनियमितता भएको हुन सक्ने समितिका अध्यक्ष करवीर शाहीले बताउनुभयो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत र सिभिल अस्पताल काठमाडौंंले खरिद गर्ने निर्णय गरेका एमआरआई मेसिन एउटै कम्पनी र एउटै क्षमताका हुन् ।

यी दुवै अस्पतालले थ्री टेस्ला क्षमता भएको एमआरआई खरिदका लागी बोलपत्र स्वीकृत गरि प्रक्रिया अगाडि बढाएका छन् । तर, सिभिल अस्पताल भन्दा कर्णाली प्रदेश अस्पतालले खरिद गर्न लागेको उपकरणमा ७ करोड रुपैयाँ महंगो परेको छ ।

दुवैले इष्ट वेस्ट कन्सर्न प्रालिमार्फत मेसिन खरिद गर्न लागेका हुन् । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रदेश अस्पतालले भने २९ करोड ७१ लाख ६६ हजार ७९२ रुपैयाँमा खरिद गर्न कन्सर्नलाई जिम्मा दिएको छ । दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरू समान छन् ।

दुवै अस्पतालले साना र ठूला गरी ३०० भन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रूपमा स्पेसिफिकेसन बनाएका छन् । जसमा अधिकांश बुँदाहरू एक अर्कामा मेल खाने देखिन्छन् ।