१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कोरोना भाइरस मानव निर्मित होइनः अमेरिकी गुप्तचर अधिकारी


0
Shares

एजेन्सी, बैशाख १९ । कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको अमेरिकी गुप्तचर अधिकारीहरुले बताएका छन् ।

भाइरस मानव निर्मित नभए पनि यसको उत्पत्ति कहाँ भएको थियो भन्ने अनुसन्धान जारी रहेको अमेरिकी गुप्तचर अधिकारीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अमेरिकाको राष्ट्रिय गुप्तचर निकायका प्रमुखले आफूहरुले भाइरसको संक्रमण मानवमा जनावर हुँदै आएको वा प्रयोगशालामा भएको दुर्घटनाका कारण फैलिएको भन्ने बारे अनुसन्धान गरेको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट आएको प्रमाण भेटिएको बताइरहेका बेला अमेरिकी अनुसन्धानमै यो दाबी मिथ्या पुष्टि भएको हो । ट्रम्पको आरोपको चीनले भने खण्डन गदै आएको छ ।

भाइरस मानव निर्मित नरहे पनि संक्रमण जनावर हुँदै मानवसम्म फैलियो वा प्रयोगशालामा भएको कुनै दुर्घटनाबाट भयो भन्ने स्पष्ट नभएकाले अनुसन्धान जारी रहेको अमेरिकी गुप्तचर निकायले नामएको हो ।

गुप्तचर निकाय भन्छ, ‘भाइरसको उत्पत्ति मानवीय कारण नभइ प्राकृतिक रहेकोमा सबै वैज्ञानिक सहमत छन् । तर यसको बिस्तार कसरी भयो भन्ने चाहिँ अझै अनुसन्धान जारी छ । संक्रमित जनावरसँगको सम्पर्कमा आएर मानिसमा यो भाइरस आयो वा वुहानको कुनै प्रयोगशालामा भएको दुर्घटनाको परिणाम अहिलेको महामारी हो भन्ने बारे हामीले गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौँ ।’

पहिलो पटक गत डिसेम्बरमा चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण देखिएयता विश्वभर ३३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने दुई लाख ३४ हजार मानिको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा करिब ११ लाख संक्रमित हुँदा त्यहाँ ६३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

राष्ट्रपति ट्रम्पले भने आफूसँग भाइरस चीनको ल्याबबाटै फैलिएको भन्ने प्रमाण रहेको दाबी गरेका छन् । भाइरस चीनले जानाजान वा अन्जानमा फैलाएको हुन सक्छ भन्दै उनले चीनले यसको जवाफ दिनु पर्ने माग गरेका हुन् ।