
काठमाडौं, बैशाख १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजिवी जनताका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै दाहालले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजिवी मजदुरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न शहरमा रहेका निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’
देशका विभिन्न भागबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अरु जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यसम्म लैजान पनि उनले भनेका छन् ।
उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्