१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्रीकाे व्यापक रुपमा प्रयोग


78
Shares

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका बजार क्षेत्रमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री व्यापक रुपमा प्रयोग भएको पाइएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीको जिम्मेवारी अन्तरगत ठेक्कामार्फत सेन्टर निर्माण भएकाे हाे । २०७९ असोज ११ गते निर्माण कार्य सक्ने गरी काठमाण्डौंस्थित कोजु-सञ्जय जेभी निर्माण कार्यको ठेक्का लिएको हो । यसअघि पनि गुणस्तरहीन सामाग्री प्रयोग गरेको गुनासो आएपछि डिभिजन कार्यालयले काम रोकेको थियो ।

अहिले फेरि कमसल इट्टासहितका सामाग्री प्रयोग भएको र निर्माण भएका स्थानमा चर्केको गुनासो आएपछि नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायले निर्माणाधिन भवनको अनुगमन गरेर काम रोकेका हुन् । याेजना अनुसारको काम समेत नभएकाले गुणस्तरहीन सामाग्रीलाई हटाएर काम गर्ने डिभिजन कार्यालयले प्रतिबद्धता जनाएपछि अहिले काम सुरु भएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको रिफ्रेस सेन्टरका लागत ३ करोड १८ लाख २६ हजार रहेको डिभिजन कार्यालय रुपदेहीका प्रमुख गुणनिधि पोखरेलले बताउनुभयो राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधनका चालक र यात्रुहरुको सुविधाका लागि सेन्टर निर्माण गर्न लागिएको हो ।

पहिलो चरणमा भइरहेको दुई वटा भवनको सेन्टरको एउटा भवनमा अन्तर्राष्ट्रिय स्तरको शौचालय र अर्को भवनमा चालकहरुको आराम कक्ष र स्नान गृह रहने छ । त्यसबाहेक सेन्टरमा क्याण्टीन, शैलुनलगायतका सुविधा रहने छन् । प्रदेश सरकारको बजेटबाट अहिले दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रिफ्रेस सेन्टर निर्माण भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ ।