
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रहेको ऐतिहासिक सम्पदा पञ्चदेवलको पुननिर्माण अझै अघि बढ्न सकेको छैन ।
समयमै पुननिर्माण नहुँदा जीर्ण अवस्थामा रहेको पञ्चदेवल जुनसुकै बेला भत्किएर वृद्धाश्रममा हिँडडुल गर्ने ज्येष्ठ नागरिक ज्यान जोखिममा पर्ने देखिएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त पञ्चदेवल पुननिर्माणको पटक–पटक बाचा भए पनि ७ वर्षसम्म वरको सिन्को पर सार्ने काम भएको छैन । १९२७ सालमा निर्मित ऐतिहासिक पंचदेवलले वृद्धाश्रमको ठूलो क्षेत्र ओगटेको छ ।
यही देवल सत्तल वृद्धाश्रमको आश्रय थियो । डेढसय वर्षअघि कलात्मक शैलीमा बनेका पाँच शिव मन्दिर अहिले जीर्ण अवस्थामा छन् ।
तात्कालिन समयमा गरिवका लागि विद्यालय र खाना खुवाउने स्थान रहेको पञ्चदेवलका वरपर रहेको आश्रममा सरकारले वर्षौंदेखि वृद्धाश्रम चलाइरहेको छ । मन्दिरमा नै उम्रिएका रुख विरुवाले कुनबेला मन्दिर ढल्ने पत्तो छैन ।
यसले आश्रममा रहेका वृद्धवृद्धाको संरक्षणमा चुनौती थपेको समाजकल्याण केन्द्र वृद्धाश्रमका नायव सुब्बा हृद्यराज उपाध्याय बताउनुुहुन्छ ।
प्राविधिक जनशक्ति, परामर्शदाताबीच उचित सवन्वयको अभावमा अपेक्षा अनुसार काम अघि बढ्न नसकेको कोषको स्वीकारोक्ति छ । तर, आगामी आर्थिक वर्षभित्र पुननिमार्णको काम सम्पन्न गर्ने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउनुहुन्छ ।
त्यसो त कोषले वृद्धाश्रमलाई गोठाटार सारेर पञ्चदेवल भएको ठाउँमा संग्रहालय बनाउने सोच अघि बढाएको छ । यसका लागि उसले सरकारसँग समन्वय गरिरहेको छ । यसो हुन सके दुवै पक्षका लागि हितकर हुने कोषका कार्यकारी निर्देशकको दाबी छ ।
कोषको योजनामा वृद्धाश्रममा आश्रय लिएका ज्येष्ठ नागरिक खुसी देखिदैनन् । उनीहरू जीवनको उत्तराद्र्ध पशुपतिनाथकै सामिप्यमा बितोस् भन्ने चाहन्छन् ।
यस अवस्थामा ज्येष्ठ नागरिकको सुरक्षा र सम्पदाको सांस्कृतिक महत्वलाई न्याय हुने किसिमको निर्णय तत्काल गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्