
एजेन्सी । भारतीय अभिनेता राजपाल यादवमाथि २० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
मध्य प्रदेशको इन्दाेर प्रहरीले यस विषयमा यादवविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिल्डर सुरिन्दर सिंहले राजपाल विरुद्ध उजुरी दिएका हुन् ।
सिंहले प्रहरीलाई दिएको उजुरीमा यादवले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, यादवले आफ्नाे छोरालाई कुनै सहयोग नगरेको सिंहकाे दाबी छ ।
यादवलाई दिएको पैसा फिर्ता माग्दा राजपाल सम्पर्कमा नआएको सिंहकाे भनाइ छ । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानविन सुरु गरेको छ ।
अभिनेता यादवमाथि ठगीकाे आराेप लागेकाे याे पहिलाेपटक भने हाेइन । यसअघि सन् २०१० मा एक व्यक्तिले उनीविरुद्ध ठगीको मुद्दा दर्ता गरेका थिए । त्यस समय ‘आता पता लापता’ नामक फिल्म निर्देशन गर्न लागेका यादवले उक्त व्यक्तिबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए ।
ठगीकाे मुद्दा अदालतसम्म पुगेपछि अदालतले यादवलाई जेल सजाय सुनाएको थियो । यद्यप उनी धराैटीमा रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्