
एजेन्सी । रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ ।
युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेको हो । रुसको पछिल्लो आक्रमणमा परेर कम्तीमा २१ जनाको मृत्यु गएको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
आक्रमण भएको भवनमा झण्डै एक सय नागरिक बस्दै आएका थिए । क्षेप्यास्त्र आक्रमणबाट भवन क्षतिग्रस्त भएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको युक्रेनले जनाएको छ ।
रुसी अधिकारीहरूले भने आक्रमण नभएको दाबी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले गएराती भएको आक्रमण अस्वीकार गर्दै कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको बताएको एएनआईले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्