
काठमाडौं । नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को ग्राण्ड फिनाले आज (शनिबार) हुँदैछ ।
बेलुकी ८ बजेपछि सोल्टीमोडस्थिल होटल सोल्टीमा हुने कार्यक्रममा उपाधिका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दैछन् । कार्यक्रमकाे प्रत्यक्ष प्रसारण ईमेज च्यानलबाट हेर्न सकिनेछ ।
उपाधिका लागि मोरङका भाइबर साइमन, काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिड्दैछन् ।
उपाधि विजेताले बिजेताले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।
यस्तै दोस्रो हुनेले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्न पाउनेछन् भने पाँचमध्ये एक जनलाई नेबिको विस्कुटको ‘नेपाली पन, नेपाली मन’ स्किम अन्तर्गत १ लाख रुपैयाँ पाउने निर्देशक खड्काले बताए ।
उपाधि भिडन्तका लागि ९ बजेसम्म भोटिङ खुला गरिएको छ । उक्त अवधिसम्म आफूलाई मनपर्ने कलाकारलाई भोट गर्न सकिनेछ ।
शो को निर्णायक गिरिज खतिवडा, मानस घले र बालेन शाह हुन् । तर बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएपछि बालेन शो मा देखिएका छैनन् ।
८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।
भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्