२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

सिन्धुलीमा मलबिना नै ४० प्रतिशत धान रोपाइँ सम्पन्न


91
Shares

सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ ।

लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै गएको अवस्थामा स्थानीय किसानहरूले मलको पर्खाई छाडेर धान रोपाइँ गरेका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रमुख नवराज महतका अनुसार जिल्लामा गत फागुन महिनादेखि युरिया मलको अभाव भएको हो । गत साउनदेखि फागुनसम्म जिल्लामा लगभग १७ सय टन युरिया मल भित्रिएको थियो । त्यपछि सिन्धुली जिल्लामा मल आएकै छैन् ।

सिन्धुली जिल्लामा यस आर्थिक वर्षमा ६ हजार टन युरिया मल, २५ सय टन डिएपि मल र २५० टन पोटास मल माग गरिएकोमा कृषि सामाग्री कम्पनी लिमिटेडले ३ हजार टन युरिया, एक हजार टन डिएपी र १५० टन पोटास मल आउनका लागि स्वीकृत भइ यही असारको दोस्रो सातासम्म मल जिल्लामा आइसक्ने भनिएपनि अझै मल आएको छैन् । सिन्धुली जिल्लामा कमलाखोच, मरिण, चदाहा क्षेत्रमा ४० प्रतिशत क्षेत्रमा रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्रको एक तथ्यांकले देखाएको छ ।

सिन्धुली जिल्ला सदरमुकाम सिन्धुली माडीमा अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा एक बोरा समेत मल छैन् । यसअघि स्थानीय किसानहरूलाई रासायनिक मल र किटनाशक औषधि वितरण गर्दै शिद्धेश्वर कृषि सहकारीमा समेत मल छैन् । विगतका वर्षहरूमा मल खरिद गर्न जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा यतिबेला किसानहरुको घुइँचो लाग्ने गर्दथ्यो ।तर यसवर्ष सरकारले देशमै मल नल्याएका कारण सदरमुकाम सिन्धुलीमाडी सुनसान देखिन्छ ।

सिन्धुलीमा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहेको अवस्थामा कतिपय किसानहरुले भने गोठ जुठेल्नाको प्रांगारिक मलको उपयोग गरेर किसानले रोपाइँ सुरु गरेका हुन् । सिन्धुली जिल्लामा जेठको अन्तिम साताबाटै रोपाइँ सुरु भइ साउनको पहिलो हत्तासम्म रोपाइँ चल्ने गर्दछ ।