२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सुनकोशी-२ को प्रतिवेदन अनुसार सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्ला डुवानमा पर्ने


14.885k
Shares

सिन्धुली । सुनकोशी-२ को प्रतिवेदन अनुसार सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्ला डुवानमा पर्ने देखिएकाे छ ।

विद्युत विकास विभागले ९ सय ७८ मेगावाट क्षमताको सुनकोशी–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्लका अधिकांश भू–भाग डुवानमा पर्ने देखिएको हाे ।सुनकोशी–२ आयोजना बनाउन प्राविधिक रूपमा सम्भव भएपनि वातावरणीय व्यवस्थापनका लागि ठूलो लागत पर्ने र सोही आयोजनाले सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्लाका धेरै संरचनाहरु डुब्ने प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन देखाएको छ ।

२ खर्ब ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ९ सय ७८ मेगावाटको जलाशययुक्त यो आयोजना रामेछाप, सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माण हुँदा सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप गरी ३ जिल्लाका ७ स्थानीय तहका २८ वटा वडाहरु प्रभावित हुने देखिएको छ । १ सय ६८ मिटरको बााँध निर्माणका लागि ३४.५ हेक्टर जमिन आवश्यक पर्ने छ भने,५२ किलोमिटरसम्म फैलने आयोजनाको कृत्रिम तालका कारण अधिकांश क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, वीपी राजमार्ग र खुर्कोट–मन्थली–खिम्ति सडक खण्ड डुवानमा पर्ने देखिएको छ भने, १ लाख ४८ हजार ५४६ वटा रुखहरु काट्नु पर्नेछ देखिन्छ ।

सोही आयोजना निर्माणका लागि ६ हजार ९८ घर परिवारको १९६० दशमलव ९ हेक्टर कृषि तथा आवासीय जग्गा अधिग्रहण गरी निजी जग्गाको मूल्यांकन बजार भाउमा गर्दा ३१ अर्ब बराबरको निजी जग्गामा क्षति हुने सो प्रतिवेदनले देखाएको छ ।
सोही आयोजना कार्यान्वयनमा ल्याउँदा ३ हजार ४ सय ७४ आवासीय घर तथा १ हजार ४१८ गोठको क्षति हुने देखिएको छ भने, रामेछाप जिल्लाको मन्थली नगरपालिकाका सबै भन्दा बढी परिवारहरु प्रभावित हुने तथा मन्थली, खुर्कोट, मुलकोट लगायतका स्थानीय बजारहरु डुवानमा पर्ने देखिन्छ ।

आयोजनाका लागि बाँध निर्माण गरेपछि १८० दशमलव ७ घनमिटर पानी जलाशयकमा जम्मा भइ ४ हजार २ सय २६ हेक्टर नदी तटीय क्षेत्र ढाक्ने देखिन्छ । सोही आयोजनाको जलाशयले मन्थली नगरपालिकाको मन्थली बजार, विमानस्थल, खाँडादेवी गाउँपालिका, मुगिटार, सुनकोशी गाउँपालिका, खुर्कोट, गोलन्जोर गाउँपालिकाको ग्वालटार आदि बस्तीहरु आंशिक वा पूर्ण रुपमा डुबाउने देखिएकाे छ ।

सुनकोशी नदीको दायाँ किनारामा रहेको मध्यपहाडी राजमार्गको किनारमा प्रस्तावित आयोजनाको सतही विद्युत गृह निर्माणका लागि ३.२ हेक्टर जमिन आवश्यक पर्ने सो आयोजनाबाट उत्पादन हुने विद्युत ४ सय केभी डबल सर्किट क्षमताको करिब ४५ किलाेमिटर निर्माण गरेर प्रस्तावित सुनकोशी हबमा जोड्ने गरी मन्त्रीडाँडा सिन्धुलीमा सबस्टेशन प्रस्ताव गरिएको छ ।