
काठमाडौं । नेपाली गोताखोरहरू सामान्य उपकरण नहुँदा जोखिम मोलेर काम गर्न बाध्य भएका छन् ।
झरी बाक्लिनासाथ प्राकृतिक प्रकोपका घटना एकपछि अर्को गर्दै कानमा ठोक्किन आइपुग्छन् । अझ नेपालका प्रमुख राजमार्ग नदी किनारमा बनाइएकाले सडकबाट खसेका गाडी सिधै नदीमा झर्ने गरेका छन् । ठाडो खोलामा ज्यान माया मारेर जोखिमपूर्ण काम गर्ने गोताखोरको अवस्था सोचे जस्तो छैन् ।
नेपालमा रहेका गोताखोरको व्यवस्थापन गर्ने एकमात्र निकाय सशस्त्र प्रहरी बल हो । बलका गोताखोरले बंगलादेशमा तालिम लिन्छन् । त्यहाँ स्थिर पानीमा अभ्यास गरेका प्रशिक्षार्थीले नेपालमा आएर चट्टाने खोलामा डुबुल्की मार्नुपर्दा ठूलो उनीहरूको ज्यान जोखिममा पर्ने गरेको छ ।
अझ गोताखोरका लागि हुनुपर्ने न्यूनतम श्रोत साधनको अभावमा उनीहरू पूर्ण क्षमता देखाउन समर्थ हुँदैनन् । यद्यपि प्रकृति प्रकोपबाट हुने मानवीय क्षति जोगाउन सशस्त्र प्रहरीले सातै प्रदेश, काठमाडौंको सिनामंगल, चितवनको कुरिनटार गरी दश ठाउँमा गोताखोर तयारी अवस्थामा राखेको छ ।
प्राकृतिक विपदका दृष्टिले नेपाल जोखिममा पर्ने मुलुक हो । यहाँ वर्षेनी बाढीपहिरोबाट सयौंले ज्यान गुमाउने गरेका छन् । तर यस्ता विपत्तिबाट क्षति कम गर्न हुने सरकारी तयारी टिठ लाग्दो हुने गर्छ । सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमार्फत बंगलादेशबाट दिक्षित भएर आएको ५६ गोताखोर नै अहिले पानीको विपदबाट जोगाउने सारथी हुन् ।
उपकरणका दृष्टिले सम्पन्न नबनाइँदा उनीहरूको ज्यान जोखिममा छ नै, पीडितले प्रभावकारी सेवा नपाउने त्रास उत्तिक्कै रहन्छ । जनताको सेवासँग जोडिएका यस्ता विषयमा भाषण मात्र पर्याप्त हुँदैन् । संसद, सरकार र फौजी संगठनका नेतृत्वले अमूर्त प्रतिवद्धता जनाउनु सट्टा फलदायी निर्णय लिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्