१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

‘एसपीपी अस्वीकारको पत्र पठाएका छैनौं, अध्ययन हुँदैछ’

559
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनुभएको हो ।

पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरूलाई जानकारी दिने स्पष्ट पार्नुभयो ।

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनुभयो ।

प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको समेत स्पष्ट पार्नुभयो ।

सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँको स्पष्टिकरण थियो ।

प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ ।

त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।