१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईजीपी मुद्दामा दुवै पक्षको बहस सकियो, २६ गते अर्को पेशी


117
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दामा रिट निवेदक र प्रतिवादी दुवै पक्षको बहस सकिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्षी दुवैलाई असार २३ गतेभित्र बहसनोट पेश गर्ने आदेश गरेको छ ।

इजलासले एआईजी विश्जराज पोखरेलको मुद्दा हेर्दाहेर्देमा राखेर असार २६ गतेलाई अर्को पेशी तोकेको छ । असार २६ गते रिट निवेदक पोखरेलको तर्फबाट वकीलहरूले जवाफी बहस गर्नेछन् ।

आइतबार (आज) प्रतिवादी धिरज प्रताप सिंहको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, टीकाराम भट्टराई, शम्भु थापा, रमण श्रेष्ठ लगायत १९ जना वकिलले बहस गरेका थिए ।

बैशाख २२ गतेबाट प्रारम्भिक सुनुवाइ भएको आइजीपीको मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्रधिकारमा राखेर सनुवाइ गर्न आदेश दिएको थियो ।

सरकारले आईजीपीमा सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले सरकारको निर्णय विरुद्ध अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

एआईजी पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा कनिष्ठ सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।