
काठमाडौं । नेकपा (एमाले)ले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण चलाउने भएको छ ।
आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको लागि संयोजन गर्ने जिम्मेवारी पार्टीका सात उपाध्यक्षहरूलाई जिम्मेवारी दिएको छ ।
जसमा प्रदेश १ मा ईश्वर पोखरेल, मधेश प्रदेशमा सुरेन्द्र पाण्डे, वागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवाली रहनुभएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले विभिन्न विभागमा सचिव मनोनयन पनि गरेको छ ।
गुरुङका अनुसार वित्त तथा कोष व्यवस्थापन विभाग सचिवमा डा. भिष्म अधिकारी, संगठन विभाग सचिवमा सम्झना देवकोटा, उपभोक्ता हीत संरक्षण विभाग सचिवमा भवानी खनाल, श्रम तथा रोजगार विभाग सचिवमा जनक चौधरी, संसदीय विभाग सचिवमा डा. सूर्य पाठक, सामाजिक सेवा विभाग सचिवमा डा. नेत्रप्रसाद तिमल्सिना, संस्कृति विभाग सचिवमा राजेश थापा, स्थानीय तह विकास विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभाग सचिवमा गगन बिष्ट, परराष्ट्र मामिला विभाग सचिवमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्य प्रशासन विभाग सचिवमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुंगाना, अर्थ तथा योजना विभाग सचिवमा योगेन्द्र शाही र कानून विभाग सचिवमा डिल्लीराम मैनालीलाई मनोनयन गरेको हो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको पनि गुरुङले बताउनुभयो । त्यस्तै उहाँले वित्त तथा कोष व्यवस्थापन विभाग, कृषि तथा पशुपंक्षी विभाग र निर्वाचन विभागलाई बिस्तार गरिएको जानकारी दिनुभयो ।
बैठकले अनुसन्धान प्रतिष्ठान सञ्चालन कार्यविधिलाई पारित गरेको छ । त्यस्तै, स्थानीय तह विकास विभागको निर्देशिका पनि पारित गरेको छ ।
असार मसान्तसम्म सबै जिल्ला कमिटी र प्रदेश कमिटीहरुले निर्वाचनको समीक्षा रिपोर्ट तयार गरेर केन्द्रमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।
त्यसैगरी बैठकले महंगी, मुद्रास्फिर्ति, मूल्यवृद्धि, नीतिगत भ्रष्टाचार, मलको अभावको बिरुद्धमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्