राजन कुईंकेल ।
चरम सत्ता संघर्षमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद भूसको आगो झै सल्किएर डढ्ने छ वा ‘चिसै पानी’ले नुहाउने सिद्धान्तमा पुगेर टुग्गिने छ सबै प्रतीक्षामा छन् । मुलुक कोरोनाको कहरले नराम्ररी प्रभावित भएका बेला सत्तारुढ नेकपाका नेताहरु भने सत्तास्वार्थको डम्फू बजाएर जग हँसाई छन् । यसले दुई सन्देश दिएको छ, एक तात्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता फगत सत्ता हात पार्ने षड्यन्त्रमूलक फोहोरी खेल थियो । दुई, विकास निर्माण र समृद्धी जनता झुक्याएर सत्ता र शक्ति हत्याउने खेलको कूटील माध्यम मात्र हो ।
देशमा कम्युनिष्टको सरकार बने स्वर्गकै तारो झर्ने छ भन्ने सपना बेचेर गद्दीका व्यापार गरेकाहरुको चित्र र चरित्र पनि यो प्रकरणले पटाक्षेप गरिदिएको छ । नैतिक मूल्य र आचरण नभएका, लाज शरम बेफिक्री पचाइसकेका पटके अयोग्यहरुबाट मुलुक र जनताले निकास पाउन सक्दैनन् भन्ने पनि दुई तिहाई निकट कम्युनिष्ट सत्ताले प्रष्ट्याइदिएको छ । बहुमतको सरकार नहुँदा अस्थीर राजनीतिले जनअपेक्षा पूरा नभएको ठान्दै नेकपालाई सत्ताको एकलौटी साँचो सुम्पिएका जनता भने पुर्पुरोमा हात लाउनुपर्ने अवस्थामा पुगेका छन् ।
तात्कालीन एमाले र माओवादी केन्द्रको एकता ‘घ्यू बेचुवा र तरबार बेचुवा’को व्यापार मात्र थियो भन्ने पनि अब कसैमा भ्रम रहेन । नेकपाको दुई तिहाईनिकट निर्वाचन परिणाम तात्कालीन सरकार प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवाका निकम्मा निर्णयहरु र दुई कम्युनिष्ट पार्टीको एकताको बलमात्र थियो भन्ने पनि सिद्ध हुँदै गएको छ । त्यसमाथि नेपालमा एकलौटी कम्युनिष्ट सत्ता स्थापना गर्ने देशी विदेशी चाहनाले पनि तात्कालीन एमाले र माओवादी केन्द्रलाई गठबन्धन हुँदै पार्टी एकता गर्न घचेटेको थियो भन्ने क्रमशः खुल्दै गएको छ ।
यस्तोमा पाँच वर्ष अकञ्टक शासन गर्न जनताले दिएको जनमतलाई कुल्चिएर नेकपा नेतृत्व जगहँसाई मात्र गरिरहेको छैन, पार्टी विभाजनबाट वाक्क भएका जनतालाई दल फुटाएर फेरि फोहोरी संसदीय राजनीतिको फण्डामा धकेल्न खोज्दैछ । त्यसैको परिणाम थियो प्रधानमन्त्री केपी ओलीले ल्याएको दल फुटाउ अध्यादेश । सत्ताका अवयव एकलौटी कब्जाको नियतमा ल्याइएको थियो, संवैधानिक परिषदबाट विपक्षीलाई निषेध गर्ने अध्यादेश । समाजवादी पार्टीलाई फुटाउने रिहर्सल त सकिसकेको छ । तैपनि उक्त काण्डका नाइकेहरु उल्टै गर्जन गर्दै नेपाली मिडियामा फनफनी घुमिरहेका छन् ।
नेतृत्वबीच उकुच पल्टिरहेको घाउको विष्फोट बन्न गएको यही प्रकरणले अब नेकपाको आगामी दिनको दिशा र दशा तय गर्दैछ । मनमुटावको शिखर चढिसकेका नेताहरुले अन्त्यमा ‘चिसै पानी’ले नुहाउने छन् वा ‘बाक्लो दाल खाने’ छन् भन्ने पनि अबको केही घण्टामा पटाक्षेप हुने नै छ । अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री केपी ओली कुनै हालतमा विप्लवी नेताहरुसमक्ष शिर निहुराउने पक्षमा देखिन्नन् ।
अर्थात् उनीविरुद्ध रहेका पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलले अध्यक्ष र प्रधानमन्त्री दुबै पद त्याग्न गरेको आग्रह कम्तिमा यसपटक पूरा हुन दिने छैनन् । त्यस्तो परिस्थिति आयो र नेताहरु टसकोमस भएनन् भने ओलीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा मुलुकलाई लैजाने सम्भावना नजिक रहेको बालुवाटार स्रोत दावी गर्छ । ओली गलेनन् र पाँच वर्ष शासन गर्न दिएको जनमत टिकाउन नसकेर मुलुक मध्यावधिमा होमियो भने त्यसको ठूलो असर दाहाल–नेपाल समूहलाई पर्न सक्ने आंकलन गरिएको छ । त्यस्तो अवस्थामा यो समूह ओलीले लिएको अडानमा गलेर चिसै पानीले नुहाउन राजी हुनुको विकल्प नहुने विश्लेषण ओलीनिकट नेताको छ ।
मध्यावधि घोषणा गरेका ओली पार्टीका अध्यक्ष पनि हुने हुँदा अर्को पार्टी जन्माएर निर्वाचनमा जानु अर्को समूहलाई सजिलो हुने छैन । त्यसबेला ओलीले नै निर्वाचनमा टिकट बाँड्ने छन् । दाहाल–नेपाल समूहले उनै ओलीले छुट्याइदिएको टिकटमा चुनावमा सहभागि हुने वा अलग्गै नयाँ दल खोलेर निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ । नेताहरुले सहमति खोजेनन् भने २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले मध्यावधि गराउँदाको पोजिसनमा ओली रहेको दाबी ती नेताको छ ।
ओली गलेनन् र उनले लिने संसद विघटनदेखि मध्यावधिसम्मको कदम अगाडि नै दाहाल–नेपाल समूह पार्टीबाट कार्वाही गरी हटाउने बाटोमा गयो भने पनि नेकपा विभाजनको बाटोमा जाने निश्चित हुन्छ । यस्तोमा अब दुबै पक्षले जीत जीतको सिद्धान्तलाई अवलम्बन गर्दै दुबैको हित खोज्ने वा एउटा पक्षले चिसै पानीमा नुहाउन तयार हुने अन्यथा छुट्टिएर बाक्लो दाल खाने बाटोमा लाग्ने अवस्था आउने देखिँदैछ ।
प्रतिक्रिया दिनुहोस्