२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सिन्धुलीमा पहिरोका कारण ग्रामिण क्षेत्रका सडक जीर्ण


104
Shares

सिन्धुली । लगातारको वर्षाले बाढी पहिरो जाँदा सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रका सडकहरू जीर्ण बनेका छन् ।

सदरमुकाम सिन्धुलीमाडीबाट ग्रामिण क्षेत्रका विभिन्न स्थानमा आवाजजावत गर्नका लागि खोलिएका ग्रामिण सडक बिग्रिएर दयनीय अवस्थामा पुगेको हुन्। अबिरल वर्षाले सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ् सडक, सोलाभञ्ज्याङ्–मझुवा सडक, खनियाखर्क–तीनकन्या सडक र बस्तिपुर–रामपुर लगायतका ग्रामीण सडक भत्किंएर यातायातका साधनहरू समेत संचालन गर्न समेत कठिनाई भएकाे छ ।

उता सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–५ हिर्दिङमा दुई दिनसम्म परेको अबिरल वर्षाले खनियाखर्क–तीनकन्या सडक भत्किंएर लथालिङग भएको छ । सोही क्षेत्रमा वर्षाले सडक भत्काएपछि दूध ढुवानी गर्न समस्या भएको छ भने यातायात बन्द हुँदा गाउँमा उत्पादन भएको कृषि उपज तथा फलफूल बगैंचामा नै कुहिएर जान सक्ने डरले स्थानीय किसानहरू चिन्तित बनेका छन् ।

सिन्धुली जिल्लाको तीनपाटन गाँउपालिका स्थित ४० किलोमिटर लामो सिन्धुलीमाढी–चकमके सडकको यात्रा यतिखेर निकै डर मर्नु नै रहेको देखिन्छ । सो सडक अन्तर्गत कमलामाई नगरपालिकाको पल्लो रामपुरदेखि हिले भन्ज्याङ थरहरी क्षेत्रमा सडक धान रोप्न ठिक्क पारेको खेत जस्तै बनेको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीदेखि भिमस्थानसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न वर्षाको समयमा पनि अहिले स्तर उन्नतिको काम भइरहेकाले सडकमा यातायातका साधनहरू आवागमनमा कठिन भएको हो ।

उता सिन्धुली जिल्लाको चकमकेदेखि बाहुनतिल्पुङसम्म करिब १० किलोमिटर सडकको बीचमा पर्ने विभिन्न खोलानालामा पुलको अभाव र सडकको मर्मत सम्भार हुन नसकेर यातायात सेवा बन्द हुँदा अहिले त्यस क्षेत्रका बासीन्दाहरू सदरमुकाम आउन र जान तीन दिनसम्मको पैदल हिड्न बाध्य भएका छन् ।

हिउँदको समयमा बाहुनतिल्पुङदेखि काठमाडौंसम्म दैनिक रुपमा बस सेवा सञ्चालन हुँदै आएकोमा वर्षाको मौसम सुरु भएसँगै यातायात सेवा नै बन्द भएको छ । यातायात सेवा बन्द हुँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिन भएको होे । ग्रामिण क्षेत्रका सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफूल लगायतका कृषि उपज बेचबिखन गर्न सम्स्या भएको कृषकहरूको गुनासो छ ।

सदरमुकाम सिन्धुलीमाडीदेखि वीपी राजमार्गको आड, गढी, जलकन्या, नागी र मझुवा १३ किलो मिटर सडकमा समेत यातायातका साधनहरू संचालनमा समस्या रहेको छ । सडक कालोपत्रे गर्ने कार्यमा ढिलाई हुँदा आवागमनमा समस्या भएको छ ।