
काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ ।
गत असार ५ देखि १८ गतेसम्म अमेरिकी, मेक्सिकन लगायतका पर्यटक र नेपाली च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविर सम्मको यात्रा गरी च्याउको पारिस्थितिक प्रणाली अवलोकन गरेको थियो ।
करिव १४ जनाको टोलीले सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा गरेको थियो । मनसुन सिजनमा च्याउ प्रशस्त उम्रने भएकाले अफसिजनमा समेत च्याउ पर्यटनले पर्यटक भित्र्याउन केही सघाउ पुर्यायो ।

टोलीले भ्रमणका क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको थियो । यसले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको च्याउको संसार पर्यटकीय हिसावले प्रवर्द्धन गर्न प्रचुर सम्भावनायुक्त रहेको प्रष्ट हुन्छ ।
च्याउ पर्यटनको सफल भ्रमण गरेर काठमाडौं फर्केका अमेरिकी पर्यटक एवं साउदर्न इडाहो माइकोलोजी एसोशिएसनका प्रवन्ध निर्देशक मिकी माइरे सगरमाथाको काखसम्मको अवलोकन अभुतपूर्व भएको बताउनुहुन्छ ।

एशोसिएसनका सदस्य ग्लोरिया माइरे खुम्बु क्षेत्रमा जंगली च्याउ संसार डुल्नु अविस्मरणीय भएको बताउनुहुन्छ ।
पर्यटकले च्याउको पारिस्थितिक प्रणालीमा खलल नपुर्याइ विशुद्ध पर्यटकीय हिसाबले जंगली च्याउको अवलोकन भ्रमण गर्न पाउनु एउटा नयाँ अनुभव हो । निर्देशक मिकी नेपालमा यो पयर्टनको प्रचुर सम्भावना रहेको देख्नुहुन्छ ।
सदस्य ग्लोरिया पनि यो पर्यटनलाई प्रवद्र्धन गर्न सुझाब दिनुहुन्छ । यो पर्यटनले पनि नेपालमा विश्वका पर्यटकहरुलाई आर्कषित गर्न सक्ने उहाँको विश्वास छ ।

मनसुनको सिजनमा विशुद्ध पर्यटकीय हिसाबले जंगली च्याउको पर्यटनको सम्भाव्यता अध्ययन गरेर यसलाई प्रवर्द्धन र विकास गर्न सके स्थानीय पर्यटनलाई टेवा पुग्ने निश्चित छ । यसका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी र सरकारले ठोस योजना बनाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्