१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेकपाको सत्तासंघर्षमा उलटपुलट, प्रधानमन्त्री ओलीको पक्षमा सचिवालयका बहुमत सदस्य


0
Shares

काठमाडौं, बैशाख २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा उलटफेर भएको छ । सचिवालयको बैठकमा अल्पमतमा परिरहेका प्रधानमन्त्री केपी ओलीले बहुमत आफ्नो पक्षमा पारेका छन् ।

पार्टीको केन्द्रीय निकाय सचिवालयमा तीन पूर्वप्रधानमन्त्रीबाहेक अरु सदस्य ओलीका पक्षमा देखिएपछि समीकरणमा फेरबदल भएको हो ।

पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालबाहेक अरु सदस्य प्रधानमन्त्रीले राजीनामा दिन नहुने पक्षमा उभिएपछि अहिलेको सत्ता संकटबाट ओली जोगिएका छन् ।

तीन पूर्वप्रधानमन्त्रीलाई छाडेर ओलीतिर पुगेका सदस्यहरुले भने सरकारमा स्थान पाउने छन् । दाहाल–नेपाल पक्ष छाडेर ओलीतिर जोडिन पुगेकामा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल छन् ।

नौं सदस्यीय सचिवालयमा इश्वर पोखरेल, रामबहादुर थापा शुरुदेखि नै प्रधानमन्त्री ओलीका पक्षमा रहेका थिए ।

ओलीलाई समर्थन गरेलगत्तै नेता वामदेव गौतमलाई अब राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरिने भएको छ । राष्ट्रिय सभामा मनोनयनलगत्तै उनलाई उपप्रधानमन्त्रीमा नियुक्ति गरिने स्रोतले जनाएको छ ।

यसैगरी ओली शिविरमा सरेका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई पनि सरकारमा उप्रधानमन्त्री बनाएर पुरस्कृत गरिने स्रोतले दाबी गरेको छ ।
सत्ताको यस खिंचडीमा हालका उप्रधानमन्त्री इश्वर पोखरेलले भने सरकारबाट हात धुनुपर्ने हुनसक्ने बताइएको छ ।

यिनै विकासक्रमबारे जानकारी गराउन प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवासमा गएका हुन् । पार्टीभित्रको सत्ता संकट आफ्नो पक्षमा पारेलगत्तै उनी राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले आज या भोलिसम्ममा सरकार पुनर्गठन गर्नेबारे छलफल गर्ने बताइएको छ ।