
ओखलढुंगा । ओखलढुंगाका भूकम्पपीडित लाभग्राहीलाई भुक्तानी गर्न ७ करोड रुपैयाँ अपुग भएको छ । निकै ढिला गरेर पुनर्निर्माण प्राधिकरणबाट १५ करोड रुपैयाँ मात्र निकासा भएपछि भुकम्पपीडितलाई भूक्तानी गर्न रकम अपुग भएको हो ।
जिल्लामा पहिलो किस्ता पाउन बाँकी २ सय ८० जना, दोस्रो किस्ता पाउँन बाँकी ५ सय ५२ जना र तेस्रो किस्ता पाउन बाँकी १ हजार ६६ जना लाभग्राही रहेका छन् ।
रकम अपुग हुँदा गएको पुस यता ओखलढुंगाका लाभग्राहीले भुक्तानी पाएका छैनन् । प्राधिकरणबाट आएको १५ करोड रुपैयाँ बजेट भर्खर मात्रै फुकुवा भएकाले केही लाभग्राहीलाई भुक्तानी प्रक्रिया अगाडि बढाइएको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाले जनाएको छ ।
निजी आवास निर्माणको काम मापदण्ड अनुसार गरे पनि लामो समयदेखि रकम भुक्तानी ढिला हुँदा ऋण लिएर काम गरेका भूकम्पपीडित समस्यामा परेका छन् ।
घर निर्माण गरेको १ वर्ष बितिसक्दा पनि आफूले रकम प्राप्त गर्न नसकेको चम्पादेवी गाउँपालिका–४ का लाभग्राही नैनबहादुर कार्कीले गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्