२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चक्लेट र गुट्काको खोलमा पनि लागू औषध भेटियाे

लागू औषधसहित ४ जना पक्राउ

1.118k
Shares

सिन्धुली । सिन्धुलीमा चक्लेट र गुट्काको खोलमा पनि लागू औषध भेटिएकाे छ।

सिन्धुलीमा लागू औषधको अवैध व्यापार गर्ने गिरोहहरुले सरकारी सुरक्षा निकायलाई छक्याउन नयाँ-नयाँ प्रविधि अपनाउन थालेपछि प्रहरी समेत हैरान भएकाे छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

सिन्धुली प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको हायसबाट मोरङ रामथान गाउँपालिका-१ का २३ वर्षीय रोशन कुमार भगत, मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको हायसबाट काभ्रे खानीखोला गाउँपालिका-२ का २५ वर्षीय कृष्ण थापा, हेटौंडाबाट सिन्धुलीतर्फ आउँदै गरेको ना. ४६ प १३३० नम्बरको मोटरसाइकल चालक हेटाैंडा उपमहानगरपालिका-१६ हटियाका २५ वर्षीय अनिल कुमार नगरकोटी र रौतहट चन्दपुर नगरपालिका -९ सिन्दुरेका ३५ वर्षीय नवराज बिकलाई विभिन्न खाले लागू औषधसहित गिरफ्तार गरेको छ ।

उनीहरुबाट नाइट्राजेपाम ट्याब्लेट, नाइट्राभेट, ब्राउन सुगर जस्तो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुले चक्लेटको खोल पानपराग र गुट्खाको खोल र कतिपयले चुरोट र चुरोटको बट्टामा लुकाएर त्यस्ता लागूऔषधहरु राजधानी काठमाडाैं लैजान थालेको प्रहरीले अनुमान गरेको छ ।

वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी लोकमार्ग जस्ता ठूला सडक संजालका कारणले सिन्धुली जिल्ला पछिल्लो समयमा लागू अवैध औषधको ओसारपसार गर्ने गिरोहको भित्री ट्रान्जिट प्वाइन्ट भएको प्रहरीले जनाएकाे छ ।