
काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।
एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये ४ जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाले जनाएकाे छ ।
४ जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ । सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । नरेश बाहेकका ४ जनालाई भने आजीवन कारावासको फैसला भएको हो । ५ जना नै मृतक तेजबहादुरका नातेदार हुन् ।
२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्