१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो


1.313k
Shares

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइतेमध्ये २४ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले १२ जनाको सनाखत भइसकेको जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन् ।

यस्तै, सुनापाति–५ कै ३६ वर्षीया सञ्जु आलेमगर, ३५ बर्षीय रामबहादुर श्रेष्ठ, २५ बर्षीय बुद्ध तामाङ, ६० बर्षीय नेमा तामाङ रहेका छन् । दुई जनाको भने सनाखत हुन बाँकी छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । चालकले ब्रेक फेल भएकाले दुर्घटना भएको बताएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।