७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय


598
Shares

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो ।

संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ । एक मन्त्रीका अनुसार नागरिकता विधेयकमा रहेका बिबादित विषय झिकेर फेरि प्रतिनिधि सभामा पेश गर्ने तयारी भएको छ ।

प्रतिनिधि सभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए ।