
म्याग्दी । वर्षाको समयमा अनकन्टार भीर र जंगलको बाटो हुँदै हिमपहिरोलाई छिचोलेर ६ सय बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने धवलागिरी हिमालको आधारशिविरमा पुगेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरी क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाहरुका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँहरुमा रहेका म्याग्देली युवाहरुलाई समेत रोमाञ्चक व्यवसाय बनेको छ ।
करिब दुई दशकसम्म वैदेशिक रोजगारीका लागि मलेसिया र सिंगापुर बसेर स्वदेश फर्किनुभएका देवान छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ति गोठमा भेडापालन गर्नुभएको छ। आफ्नै पिता पुर्खाका पैतालाको डोबहरुलाई पछ्याउँदै अहिले छन्त्याल ६ सय भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरी आधार शिविरको लेकमा पुग्नुभएको हो ।
विगत पाँच वर्षदेखि घुम्ति भेडापालन गर्दै आउनुभएका छन्त्यालले जंगल, भीर,पहरो र हिमपहिरोलाई छिचोलेर धवलागिरी गाउँपालिका–५ र रघुगंगा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली रुवाचौरबाट १० दिनको कठोर यात्रा पछि गत शुक्रबार धौलागिरी आधारशिविरको खर्कमा आइपुगेको जानकारी दिनुभएको छ । देवान छन्त्यालले भन्नुभयो, विभिन्न समस्याहरुको सामाना गर्दै धौलागिरी आधारशिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु,मलाई यस यात्रामा सहयोग गर्ने सम्पूर्णलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
देवान छन्त्यालको पारीवारिक बसाई भने पोखरामा छ । सिंगापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरी क्षेत्रमा रहर लाग्दो भेडापालन गर्नुभएको छ । भेडा बिक्री गरेर मनग्य आम्दानी समेत गर्दै आउनुभएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ।
त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याले बताउनुहुन्छ।विगत पाँच वर्षदेखि धवलागिरी र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ति गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्यालसँग अहिले ६ सय बढी भेडा रहेका छन्। तिनै भेडाको बथान लिएर देवान छन्त्याल धवलागिरी गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरी हिमालको बेसक्याम्पतिर उक्लनुभएको हो।
प्रतिक्रिया दिनुहोस्