१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्रीकाे विषयमा संसदीय समितिमा छानविन गर्न माओवादी तयार

अर्थमन्त्रीलाई संसदमा बोल्नै नदिने अडानमा एमाले

234
Shares

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएकाे विषयमा छानविनका लागि संसदीय समिति बनाउन नेकपा (माओवादी केन्द्र) तयार भएको छ ।

यद्यपि बुधबारको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि मात्र छानविन समिति गठन गर्नुपर्ने उसकाे अडान छ ।

तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरूले एमालेसँग छलफल गर्न चाहेका छन् ।

बुधबार विहान बसेको पूर्वस्थायी कमिटीका नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । एमाले भने अर्थमन्त्रीलाई सुन्न तयार भएको छैन ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको चर्काे आलाेचना भएकाे छ ।

यसैबीच माओवादी केन्द्रले अर्थ मन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि नेकपा एमालेसँग छलफल गर्ने भएको छ । पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।