
काठमाडौं । लमजुङको बेँसीसहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ ।
उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ताका लागि बन्द गरिएको हो ।
सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरुपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुुभयो ।
संघीय सरकारको ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले ढलान गर्ने जिम्मा पाएको छ । २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो ।
सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर लामो बेँसीसहर –चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ ।
गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो । मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्