
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू गठबन्धनको मुख्य नेता नभएको बताउनुभएको छ ।
बुधबार संसदभवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफू गठबन्धनको मुख्य नेता नभएको र गठबन्धनको बैठकमा अर्थमन्त्रीको विषयमा कुरा उठेको आफूलाई थाहा नभएको बताउनुभयो ।
‘अर्थमन्त्रीको विषयमा छलफल गर्नको लागि गठबन्धनले मलाई बोलाएको छैन, अरु साथीहरूको बीचमा छलफल भएको भए मलाई थाहा छैन,’ जेठ १४ गते अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गठबन्धनमा छलफल भयो भन्ने प्रश्नको जवाफमा सम्मानित नेता खनालले भन्नुभयो, ‘छलफल हुनुपर्ने विषय चाहिँ हो ।’
गम्भीर विषयमा गठबन्धनबीच छलफल नै नभएको चाहिँ किन भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तरमा उहाँले थप्नुभयो, ‘गठबन्धनका मुख्य नेताहरूलाई प्रश्न गर्नुस् न !’ तपाईं पनि मुख्यमा नै पर्नुहुन्छ भन्ने पत्रकारको प्रतिप्रश्नमा उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘म मुख्य होइन, अलि गौणमा पर्छु ।’
सम्मानित नेता खनालले अर्थमन्त्रीको विषयमा छानविन हुनुपर्ने र सम्बन्धित पार्टी तथा व्यक्तिले यसका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो । सबैकुरा पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले घटनाक्रमको छानविन गरी तथ्यहरू बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्