१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का : प्रशिक्षक महर्जन


195
Shares

काठमाडौं । चीनमा आयोजना हुने १९औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । बलिया राष्ट्रहरूसँग राम्रो नतिजा निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा तल्लिन रहेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कमै मात्र आयोजना हुने महिला फुटबलले चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ ।

मिति तय भइसकेको प्रतियोगिता कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भए पनि पदकको आशामा तयारीलाई निरन्तरता दिएको हो ।

विगतका संस्करणमा सहभागितामा सिमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी गर्न थालेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउने सबै खेललाई तयारी थाल्न निर्देशन अनुसार महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई तीव्रता दिइरहेको हो ।

पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहेका छन् । तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताए ।

यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको छ । अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भूमिका निर्वाह गरेकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा छिन् ।

रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ । यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । टोलीलाई गोल गर्ने खेलाडीको निकै कमी महशुस भएको थियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए । रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ ।

नेपाली महिला टोली विगतको नतिजमा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहेनत गरिहेको हो । साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा अनुभव लिएर अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।