२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रीपरिषदमा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ


26
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताउनुभएको हो । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो ।

जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव प्रक्रिया तत्काल थाल्ने बताउनुभयो । मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताउनु भयो । उहाँले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताउनुभयो । मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताउनुभयो ।

मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्‍याउने बताउनुभयो ।