
स्याङ्जा । शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको परिणाम आउन नसक्दा सरकारको ठूलो लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।
धेरैजसो अभिभावक सरकारी विद्यालयको नाम लिँदा नाक खुम्च्याउने गर्दछन् । सरकारी विद्यालयलाई हेर्ने दृष्टिको यो मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् ।
तर, स्याङ्जाको गल्याङ नगरपालिका–८ मा रहेको श्री चण्डिका आधारभुत विद्यालय नमुना विद्यालयको रूपमा देखिएको छ । कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालय २०४७ सालमा स्थापना भएको हो ।
करिब ६५ जना विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् । तीन वटा दरबन्दी रहेको विद्यालयमा अहिले दुई जना शिक्षक मात्र रहेको प्रधानाध्यापक विष्णुकुमारी श्रेष्ठ बताउनुहुन्छ । नगरपालिकाले एक जना शिक्षकको व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ ।
विद्यालयमा कम्युटर र प्रोजेक्टरबाट पठनपाठन, स्तरीय लाइब्रेरी, खेलकुद, संगीतमय पिटी, दिवा खाजाका साथै कृषि सामग्रीको प्रयोगात्मक ढंगबाट पढाइ हुँदा अन्य विद्यालयका विद्यार्थी पनि आउने गरेका छन् ।
गाउँमै विद्यालय र गाउँकै शिक्षक हुँदा आफ्ना छोराछोरीलाई विद्यालयसम्म छोड्न जान नपर्ने र खाजाको राम्रो व्यवस्था हुँदा अभिभावक पनि ढुक्क छन् । पढाइको गुणस्तर पनि बढेकाले अन्य विद्यालय छाडेर यही विद्यालय आफूहरूको रोजाइमा परेको अभिभावक जिता थापाले बताउनुहुन्छ ।
चण्डिका आधारभूत विद्यालयमा शिक्षालाई गुणस्तरीय बनाउने हेतुले प्राविधिक शिक्षामा जोड, अंग्रेजी माध्यमबाट पठनपाठन, विभिन्न खेलकुद सामग्री, कम्युटर र प्रोजेक्टर प्रयोगबाट अध्यापन हुँदै आएको छ ।
विद्यालयलाई मागअनुसार एउटा दरबन्दीको पनि छिट्टै व्यवस्था गरिने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदार आचार्य बताउनुहुन्छ ।
अधिकांश सरकारी विद्यालयका शिक्षकले पढाउने बाहेक अरू सबै काम गर्छन् भन्ने व्यंग्यात्मक गुनासोकै बीचमा यो विद्यालय शिक्षा क्षेत्रकै लागि उदाहरणीय बन्न सक्छ । स्याङ्जाका अन्य विद्यालयले पनि यसको अनुकरण गर्ने हो कि ?
प्रतिक्रिया दिनुहोस्