
काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ ।
अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९ महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् ।
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटले ड्रिलिङको काम अघि बढाउने स्थानको पहिचान गर्न चिनिया प्राविधिक टोली दैलेख पुगेको बताउनुभयो । विभागको पेट्रोलियम अन्वेशषण शाखाका प्राविधिक पनि दैलेखमा छन् । २०७७ चैत १९ मा चिनियाँ प्राविधिक तथा विज्ञ टोली आउने तय भएको थियो ।
तर, कोरोना महामारीका कारण चिनियाँ टोली नेपाल फर्किन सकेन । अब चिनियाँ टोली आएर गर्ने अन्तिम चरणको अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन सम्भावनाको टुंगो लाग्ने छ । ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ ।
अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि व्याख्या गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्