१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले युवा शक्तिलाई स्वदेशमै आकर्षण गर्न सकेन : श्रममन्त्री कुँवर


0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताउनुभयो ।

मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जना गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।

मन्त्री कुँवरले राज्यका नीति, ऐन, कानूनहरूलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरू गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सञ्चिती गर्न कठिन हुने बताउनुभयो ।

उहाँले सरकारले ल्याउने कुनैपनि ऐन,कानून जनता मारमा पर्ने किसिमका हुनु नहुने उल्लेख गर्नुभयो ।

मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नैपर्ने बाध्यता भए पनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताउनुभयो ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गर्नुभयो ।

मन्त्री कुँवरले सांस्कृतिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सके धेरै समस्या समाधान हुने भन्दै त्यसमा आफू पहल गर्ने बताउनुभयो ।

वैदेशिक श्रमलाई सम्मानित बनाउने विषयमा विशेष जोड दिन नेपाल र नेपाली श्रमिक गएका देशबीच भएको सम्झौता तथा समझदारी राम्रो भए पनि बिचौलियाले श्रमलाई दुर्गन्धित बनाइरहेको टिप्पणी गर्नुभयो ।