१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजार नेपाली, फलफूल सबै विदेशी


923
Shares

काठमाडौं । कृषिविज्ञहरूले फलफूल उत्पादनका लागि नेपाल अनुकूल हावापानी र भूगोल रहेको दाबी गरिरहँदा उपभोक्ता बजार भने छपक्कै विदेशी उत्पादनले ढाकेको छ ।

भारत, चीनबाट मात्र नभइ नामै नसुनेका देशबाट फलफूल आयात हुने गरेको छ । बजारको चरित्र हेर्दा आन्तरिक उत्पादन बढाउने राजनीतिक प्रतिवद्धता फगत भाषणमा खुम्चिएको अनुभव हुन्छ ।

नेपालले विभिन्न प्रकारका फलफूल दुई दर्जन मुलुकबाट आयात गर्ने गरेको छ । नेपालले छिमेकी मूलुक, चीन ,भारत, बङ्गलादेश लगायतका विभिन्न देशहरूबाट १३ जातीका फलफूल आयात गर्ने गरेको छ ।

नेपालमा उत्पादन भएका फलफूलमध्ये आँप र स्याउ मात्र अपवादमा निर्यात हुने गरेको छ । नेपाली बजारमा उपलब्ध ९० प्रतिशत फलफूलको श्रोत विदेश नै भएको नेपाल फलफूल थोक व्यवसायी संघका महासचिव विनोदराज पाण्डे बताउनुहुन्छ ।

सामान्य किसानले उत्पादन गरेका उत्पादन बजारसम्म ल्याएर राज्यले बिक्रीमा सहजीकरण गरिदिने हो भने स्वदेशी उत्पादन बढाउन मद्दत पुग्ने व्यवसायीको धारणा छ ।

ढुवानीको समस्याले स्थानीय उत्पादन गाउँमै कुहिन्छन् । ती उत्पादनले बजारको पहुँच प्राप्त गर्न सके आयात प्रतिस्थापनमा टेवा पुग्ने संघका महासचिव पाण्डेको भनाइ छ ।

पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको छ । फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था आएको हो ।