२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गठबन्धन सरकार अविलम्व हट्नुपर्छ : अध्यक्ष ओली

‘माओवादी सशस्त्र द्वन्द्वको लक्ष्य छोटो बाटोबाट चाँडै सरकारमा पुग्ने मात्र थियो’

416
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार छवि कार्कीको १२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैं पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताउनुभयो । उहाँले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरूको थुप्रो भएको बताउनुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैं नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुती नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा दिएको तर राजीनामा नदिएको भए पनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताउनुभयो । माओवादीले अनुपयक्त समयमा हतियार उठाएकै कारण हजारौं युवाशक्ति विदेश जानुपर्ने बाध्यता सिर्जना भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको बताउनुभयो । उहाँले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुनु देश गम्भीर संकटतर्फ उन्मुख भएको प्रमाण रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले शान्त वातावरणमा देश चलाउनसक्ने प्रमाणित एमालेले गरिसकेको बेलामा माओवादी भन्दै हतियार उठाउनुको तुक नरहेको जिकिर गर्नुभयो । उहाँले माओवादी सशस्त्र द्वन्द्व केही सिमित व्यक्तिहरुको चाहनापूर्तिका लागि मात्रै लडिएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले १० वर्षे सशस्त्र द्वन्द्व भनेर हतियार उठाउनुको खास कारण के हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राजनीतिक कार्यकर्ता मार्नका लागि हतियार उठाएको आरोप लगाउनुभयो ।

उहाँले अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वको बेलामा उठाएका हतियारको खास कारण के थियो त्यसको उत्तर दिन चुनौती दिनुभयो । पेरुका माओवादीले ३५ हजार आफ्नै कार्यकर्ता मारेर आन्दोलन स्थगित गरेको उल्लेख गर्दै नेपालका माओवादीले भने एमाले, कांग्रेस र कम्युनिष्ट तथा प्रहरी र सेनाहरू मारेको बताउनुभयो ।

अध्यक्ष ओलीले माओवादीको सशस्त्र द्वन्द्वको लक्ष्य छोटो बाटोबाट चाँडै सरकारमा पुग्ने लक्ष्यमात्र भएको दाबी गर्नुभयो । उहाँले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले निहीत स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरितका काम गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले उक्त ड्राफ्ट तयार गरेको दाबी गर्नुभयो ।