
काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि सञ्चारकर्मी सँगको कुराकानी गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताउनुभयो ।
उहाँले छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहनुभएको बताउनुभयो । प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको पनि बताउनुभयो । त्यस्तै बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ । आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता मरहाले बताउनुभयो । उहाँले बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतको स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको हुनाले र कतिपय केन्द्रीय समितिका सदस्यकै विरुद्धमा पनि कुरा उठेको हुनाले हामीले तीन जनाको छानबिन समिति बनायौँ । त्यसमा टंक राई अनुशासन विभागको संयोजक हुनुहुन्छ । उहाँको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको तीन सदस्सीय छानबिन समिति बनाइएको छ । विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्वविद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरुले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ । प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति इञ्चार्जको नेतृत्वमा एउटा प्रदेश समन्वय समिति बनाइएको छ । यो चुनाव सम्मको लागि मात्रै हो । त्यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनुहुन्छ । प्रदेशको प्रशिक्षण कार्यक्रमहरु, बैठकहरु राखेका छौँ । त्यसमा साउन १६ गतेदेखि भदौ ३ गते सकिने गरेर प्रदेशमा राखिएको छ । १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास गरी हामीले प्रदेशको प्रशिक्षण तथा बैठकहरु राखेका छौँ ।’
प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको बताउनुभयो । प्रवक्ता महराले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दावी गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्