
काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा यही २५ गते बस्ने स्थायी कमिटी बैठकका विषयवस्तु र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा सहमतिपूर्वक प्रस्ताव लैजानेबारे छलफल भएको हो ।
यसैबीच, प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पनि अलग्गै वार्तालाप गरेका छन् ।
अध्यक्षद्वय ओली र दाहालले सोमबार पनि छलफल गरेका थिए । स्थायी कमिटीमा लैजाने एजेण्डाहरु तय गर्नकै लागि बुधबार (भोलि) बैशाख २४ गते सचिवालयको बैठक पनि डाकिएको छ ।
सोमबार अध्यक्ष दाहाल, नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालबीच पनि अलग्गै छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्दै अगाडि बढेपछि उनलाई पदबाटै हटाउनेसम्मको खेल भएका बेला गत बैशाख २० गते सबेको सचिवलाय बैठकले नेताहरुबीचको विवाद सल्टाएको थियो ।
प्रधानमन्त्री ओलीले बैठकमा आत्मालोचना गरेपछि नेताहरु २४ गते सचिवालय बैठक र २५ गते स्थायी कमिटी बैठक बोलाउन सहमत भएका थिए । अल्पमतमा परेका प्रधानमन्त्री ओलीले दाहाल–नेपाल शिविरमा रहेका वामदेव गौमतलाई आफ्नो पक्षमा पारेपछि तत्काललाई पदमाथि आइपरेको संकट टारेका थिए ।
प्रधानमन्त्री ओलीले पार्टी फुटाउन र संवैधानिक परिषदमा विपक्षीलाई निषेध गर्न दुई अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद सतहमा छताछुल्ल भएको थियो । पार्टीभित्र र बाहिरको तीब्र आलोचनापछि दुबै अध्यादेश सरकारले फिर्ता लिएपनि प्रधानमन्त्री ओलीको कार्यशैली र निर्णयले सरकार र पार्टी दुबै बदनाम भएको भन्दै उनलाई दुबै पदबाट हटाउन दाहाल–नोपलसमेतका बहुमत सचिवालय सदस्यहरु लागेका थिए ।
तर अन्तिममा नेता गौतमलाई अनेकन आश्वासन दिएर आफ्नो गूटमा तानेपछि ओलीले आफ्नो पद जोगाएका छन् । गौतमलाई भने प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री बनाउने आश्वासन ओलीले दिएको दाबी गरिएको छ । पार्टीमा विवाद तीब्र भएपछि दुई दर्जन स्थायी कमिटी सदस्यले तत्काल बैठक बोलाउन माग नै गरेका सन्दर्भमा यो बैठक हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्