१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्ती नदीको सतर्कता विन्दु पार, सतर्क रहन प्रशासनको आग्रह


286
Shares

काठमाडौं । गत रातिदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनौं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

शनिबार अपराह्न राप्ती नदीमा पानीको सतह ५ मिटर ३६ सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिव ४ देखि ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । नदीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्नेबित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्र्तराष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जोखिम क्षेत्रबाट स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको प्रजिअ खत्रीले बताउनुभयो ।