२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कांग्रेस पदाधिकारी बैठक आइतबार


117
Shares

congress meeting in balauwatar

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।

सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीको लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पार्टी पदाधिकारी बैठक बोलाउनुभएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुनेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा हुनेछ ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ । बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू र पार्टी प्रवक्ता सहभागी हुनेछन् ।

पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफू पक्षीय भेला गरेको थियो । भेलाले सभापति देउवा पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको थियो ।

कोइराला समूह भ्रातृसंस्थाको नेतृत्व चयनमा सभापति देउवाले एकलौटी गरेको र महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विधानअनुसार काम नगरेको भन्दै असन्तुष्ट छ । आफ्ना असन्तुष्टिहरूलाई सोमबार बस्ने केन्द्रीय समितिमा जोडतोडका साथ उठाउने कोइराला समूहको तयारी छ ।

कोइराला समूहले उठाएका एजेण्डामाथि आवश्यक सहमति जुटाएर केन्द्रीय समितिमा उठ्न सक्ने प्रश्नको न्यूनिकरण गर्न सभापति देउवाले केन्द्रीय समिति बैठक बस्नु अघिल्लो दिन पदाधिकारी बैठक बोलाउनुभएको हो ।