
काठमाडौं । काठमाडौंको ठमेल नेपालको पर्यटन उद्योगको वास्तविकता देखाउने ऐना हो । घर छोडेर नेपाल टेकेका पर्यटकले आफ्नो दोस्रो घर ठान्छन् ।
ठमेल अन्तरार्ष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य मात्र नभइ परापूर्वकालदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको सुन्दर स्थल हो ।
सम्पूर्ण सेवा सुविधा ठमेलमै रहेको कारण यसलाई थप विकास र विस्तार गर्न ठमेल पर्यटन विकास परिषद्को अब आउने नेतृत्वले समस्याको समाधान गरी अघि बढ्न व्यवसायीले सुझाव दिएका छन् ।
पर्यटकको आकर्षणका रूपमा रहेको ठमेललाई बहुआयामिक विकास र प्रभावकारी व्यवस्थापन अहिलेको आवश्यकता हो ।
ठमेलमा तार व्यवस्थापन, शान्ति सुरक्षा, होर्डिङ् बोर्ड, आधुनिक डिजिटल सिस्टम, गुगल म्याप, ट्राफिक व्यवस्थापन, सडक बालबालिका व्यवस्थापन लगायत साँघुरो बाटो फराकिलो बनाउँदै फुटपाथ, ढल व्यवस्थापन चुनौती देखिएको छ ।
रात्रीकालिन व्यवसाय, सीसीक्यामरा, पार्किङ लगायतका समस्या समाधानमा गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको व्यवसायीको भनाइ छ ।
समस्या निराकरणको लागि चुस्तदुरुस्त, स्वच्छ, हराभरा र सुन्दर ठमेलका लागि ठमेल विकासमा राजनीतिकरण गर्न नहुने उनीहरूको सुझाव छ ।
कोभिडको समयमा ३० प्रतिशत विस्थापित व्यवसायीलाई पुनःस्थापना गर्न र नेपाल सरकारबाट औपचारिक रूपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन आफू प्रतिबद्ध रहेको परिषद् अध्यक्षका दावेदार भवेश्वर शर्मा बताउनुहुन्छ ।
ठमेल पर्यटन विकास परिषद् ‘राम्रो ठमेल, हाम्रो ठमेल’ बनाउन वैज्ञानिक व्यवस्थापन गर्ने योजनासमेत आफूले बनाएको उहाँको भनाइ छ ।
नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा बस्ने भएकाले पनि यसलाई सुन्दर, स्वच्छ र हेर्नलायक बनाउन जरुरी छ ।
ठमेलको व्यवसायिक नेतृत्वले दीर्घकालीन र तात्कालीन समस्या समाधान गरेमा यो क्षेत्रको लागि मात्र होइन । देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन व्यवसायमाथि उक्सिनेमा दुईमत छैन ।
प्रतिक्रिया दिनुहोस्