
काठमाडौं, वैशाख २३ । उपत्यकाका मेयरहरुले कोरोना भाइरसको संक्रमणबाट उपत्यकावासीलाई जोगाउन बाहिरबाट आउनेलाई काठमाडौं भित्रन दिन नहुने बताएका छन् ।
कोभिड–१९ नियन्त्रण एवं रोकथाम उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरूले उपत्यकाभित्र कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै बाहिरबाट मानिसहरू आउन बन्द गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर उपमहानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुर मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतले पोखरेलसँग लकडाउन खुकुलो नबनाउन पनि भनेका हुन् ।
मेयरहरुसँग काठमाडौंका नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ पनि संयोजक पोखरेललाई भेट्न पुगेका थिए । उनीहरुले सुरक्षा निकाय लचिलो हुँदा लकडाउन तोडिएको पनि उनीहरुले सुनाएका थिए ।
बैशाख २५ मा जारी लकडाउनको अवधि सकिने सन्दर्भमा भेट्न पुगेका उनीहरुले उपत्यकाभित्र आन्तरिक आउजाउ गर्न भने दिन सकिने प्रस्ताव गरेका छन् । उनीहरुले स्थानीय सरकारले राहतमा खर्च गरेको रकम निकासा नहुँदा समस्या परेको पनि सुनाएका थिए ।
उपप्रधानमन्त्री पोखरेलले भने मेयरहरूका मागमा सरकारले ध्यान दिने र समिति र मन्त्रिपरिषदले निर्णय गर्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्