२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सिन्धुलीमा नेपाली मौलिक प्रविधि हराउँदैै


117
Shares

सिन्धुली । विधमान आधुनिक युगसँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका पिछडिएका ग्रामीण क्षेत्रमा रहेका रैथाने नेपाली मौलिक प्रविधि हराउँदै जान थालेको छ ।

घरेलु नेपाली मौलिक प्रविधि हराउदै जाँदा, ग्रामीण क्षेत्रको मौलिक पहिचान हराउँदै गएको हाे । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु नेपाली मौलिक प्रविधि कोल क्रमशः हराएपछि ग्रामिण क्षेत्रको माैलिकता समेत हराएर गएको छ ।

करिब ६० दशक विताएको पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु नेपाली मौलिक प्रविधिको रूपमा रहेको कोल मासिदै गएको छ । धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखलको स्थानमा आधुनिक खालका सेलर र होलर मिलहरूको स्थापना भएको छ भने, वर्षामा ओढ्ने घुम र छत्रीको ठाउँ अहिले प्लाष्टिक, छाताले स्थान ओगटेको छ ।

पछिल्लो समयमा गाउँ घरमा कटान पिसान गर्नकालागि प्रयोगमा आउने ढिकी र जातो आधुनिक प्रविधिको विकाससँगै लोप हुँदै गइरहेका छन् । डिजल,पेट्रोल र विद्युतविनै मानिस र घर पालुवा पशुहरूबाट चलाउन सकिने नेपाली मौलिक प्रविधिको तुलनामा आधुनिक मेसिन- प्रविधिहरू छिटो र सजिलो भएपनि नेपाली अर्थतन्त्र भने विदेशिएर गएको छ ।

नेपाली मौलिक घरेलु प्रविधिको लोपसँगै नेपाली परम्परागत मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । नेपाली लोक संस्कृतिमा ख्याती कमाएको पञ्चे बाजा, नौमती, झ्यालीबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेको अवस्था छ । नेपाली मौलिक प्रविधि, लोक संस्कृतिको लोप हुँदै जाँदा स्थानीयको रोजगारी समेत गुम्न पुगेको छ ।

गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी र कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउदै जान थालेका छन् । नेपाली मौलिक प्रविधि, मौलिक सीप, प्रविधिहरूको संरक्षणका लागि परम्परागत नमुना सङग्रहालय स्थापना गर्न सकिएमा भावी पुस्ताका लागि अध्ययन, अनुसन्धान गर्न सहज हुने देखिएको छ ।