
काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।
कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर १ रुपैंयाँ २५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो । यहाँका चार सहकारीमा संकलन भएको कूल २२ लाख १५ हजार ५ सय ३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो ।
दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दूधमा दिने अनुदान थप गरेको छ ।
हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर रु. २५ पैसा थप गरी १ रुपैयाँ ५० पैसा पुर्याउन लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्